Sunday, July 1, 2018

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक गोष्ठीको आयोजना

नेपाली साहित्यमा मात्रै नभई विश्व साहित्यिकवृत्तमा समेत सबैभन्दा धेरै पढिने विधामा आख्यान नै पर्दछ । आख्यानका मूलतः चार भेद– उपन्यास, लघुउपन्यास, कथा र लघुकथामा पनि उपन्यासको बजार अझ सघन देखिन्छ । उपन्यासकारहरुले आफ्नो लेखनमा नवीनपन दिन अनेक प्रयोगहरु अपनाउँदै आएका पनि पाइन्छन् । यसबाट उपन्यासकारलाई आम उपन्यासकारबाट छुट्याएर बेग्लै प्रयोगधर्मीको रुपमा चिनाएर उसका छुट्टैखालका पाठकको संख्या बढिरहेको हुन्छ । नेपाली साहित्यमा पनि उपन्यास लेखनमा धेरै प्रयोगहरु हुँदै आएका पाइन्छन् र यस्तै प्रयोगमध्येमै पर्दछ आञ्चलिकता । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा यसै सन्दर्भमा मकवानपुरको चित्लाङमा नेपाली लेखक संघसँगको सहकार्यमा ‘नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक दुई दिने गोष्ठीको आयोजना गरियो । वि.सं. २०७५ असार १६ र १७ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, गद्य आख्यान विभाग प्रमुख मातृका पोखरेलको प्रमुख आतिथ्य र स्थानीय समाजसेवी केशवराज पौडेलको सभापतित्वमा भएको गोष्ठीमा पहिलो दिन यसै विषयज्ञाता डा. धनप्रसाद सुवेदी (श्रमिक)ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले आञ्चलिकताको अर्थ, सन्दर्भ र आञ्चलिकतालाई प्राथमिकता दिएर लेखिएका उपन्यासहरुको सूचीसमेत् प्रस्तुत गर्नुभएको थियो । डा. सुवेदीको कार्यपत्रको सार यस्तो छः

१. कुनै क्षेत्र विशेषमा केन्द्रित रहेर त्यस क्षेत्रका प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि मौलिकता एवं विशेषताहरुको उजागर गर्ने प्रवृत्ति वा मान्यतालाई आञ्चलिकता भनिन्छ । बोली, संकृति, पात्र, रहनसहन जस्ता कुराहरु स्थानीय विशेषमा केन्द्रित हुनु आञ्चलिकताको प्रयोग हो । यो सन्दर्भ खास गरेर साहित्य र कलाका क्षेत्रमा अलग्गै प्रवृत्ति र सिद्धान्तको रुपमा विकसित भएको छ । संसारका हरेक भाषाको साहित्यमा आञ्चलिकताको प्रयोग पाइन्छ । सबै विधामा धेरथोर प्रयोगमा आउने भए पनि उपन्यासमा भने आञ्चलिकता सघनरुपमा आएको पाइन्छ ।

२. विश्वमा आञ्चलिकताको सैद्धान्तिक मान्यता स्थापना हुनुभन्दा अगाडि नै बेलायतबाट ओलिभर गोल्डस्मिथले ‘द डिजर्टेड भिलेज (सन् १७७०)’ नामक उपन्यासमार्फत् आञ्चलिकता भित्र्याइसकेका थिए । पहिलो आञ्चलिक उपन्यास चाहिँ बेलायती उपन्यासकार मारिया इजवर्थको ‘कासल र्याकरेन्ट (सन् १८००)’ लाई मानिएको छ । आञ्चलिक साहित्यको लेखनलाई सन् १९३० तिर अमेरिकी लेखकहरुले चलाएको ‘लोकल कलर मुभमेन्ट’ को सैद्धान्तिक अवधारणाका रुपमा लिइन्छ ।

३. आञ्चलिकतामा विशेषगरी कथाञ्चलको समाज, लोक परम्परा,, जाति, धर्म, संस्कृति, जस्ता कुरालाई प्राथमिकतामा राखेर लेखिएको हुन्छ । नेपाली उपन्यासको संख्या दुई हजारको हाराहारी पुगे पनि आञ्चलिकतामा लेखिएका कमै छन् ।

४. नेपाली उपन्यासमा आञ्चलिकताको प्रयोग गिरीषवल्लभ जोशीको ‘वीरचरित्र’ (वि.सं. १९६०)बाटै भएको हो । रुद्रराज पाण्डेको रुपमतीमा समाजको यथार्थ चित्रण पाइन्छ । शङ्कर कोइरालाको खैरेनीघाट (२०१८) नेपाली उपन्यासको आञ्चलिक लेखनको अव्वल उपन्यास हो ।

५.उज्यालो हुनुअघि, हेलम्बु मेरो गाउँ, घामका पाइलाहरु, अविरल बग्दछ इन्द्रावती, उलार, ब्रम्हपुत्रको छेउछाउ, जस्ता डेढ दर्जन उपन्यासमा आञ्चलिकताको पूर्ण प्रयोग र ओझेल पर्दा, मेरो कथा, मने लगायतका एक दर्जक कृतिमा आंशिक प्रयोग गरिएको पाइन्छ ।

६. नेपाली आञ्चलिक उपन्यासका प्रवृत्तिहरुमा– पिछडिएको ग्रामीण समाज, भौगोलिक विकटता, नदी तथा जलासयको चित्रण, जातीय विविधता, सांस्कृतिक सहिष्णुता तथा विभेद, गरिबी, शोषण–उत्पिडन, ऐतिहासिकता, लगायतका सन्दर्भहरुलाई उपन्यासकारले मूल रुपमा उठाएको पाइन्छ ।

कार्यपत्र माथिको टिप्पणी 

डा. धनप्रसाद सुवेदीको कार्यपत्रमाथि साहित्यकार गोपाल अश्कले टिप्पणी गर्नुभएको थियो । उहाँले उठाएका केही कुरा यस्ता छन्– उपन्यासकारले म आञ्चलिकतामा केन्द्रित भएर लेख्छु भनेर लेखेको नभई घटनाक्रमको बुनोट गर्दा त्यस्तो हुन गएको पनि हुनसक्छ । हिजोको गाउँ आज शहरमा परिणत भइसकेको अवस्थामा लेखिइसकेको कृतिको के कस्तो मूल्याङ्कन होला ? राजनीतिक परिवेशले गर्दा आञ्चलिकता हराउँदै गएको छ । अहिलेको संघीयताले हिजोको आञ्चलिकतामा प्रभाव पारेको छ । यो सन्दर्भ पनि कार्यपत्रमा आउनु पथ्र्यो । आञ्चलिकता हुनलाई गाउँ, पात्र, जस्ता कुराहरु गौण भई संस्कार र संस्कृति मात्रैले पनि पर्याप्त हुनसक्छ । उपन्यासमा मात्रै नभई कथामा पनि आञ्चलिकताको प्रयोग प्रसस्त भएको पाइन्छ । केही पूर्ण आञ्चलिकता केन्द्रित कृतिहरु सूचीमा छुटेका छन्, तिनलाई समावेश गर्नुपर्छ । कार्यपत्रमा शोधविधिको पालना गरिएको छैन, त्यसलाई प्रकाशनमा ल्याउँदा परिमार्जन गरिनु आवश्यक छ । 

गोष्ठीका प्रमुख अतिथि मातृका पोखरेलले आञ्चलिकता सम्बन्धीको कार्यक्रम धेरै पहिलेदेखि नै गर्न चाहेकोमा कार्यकालको अन्त्यतिर भए पनि उपलव्धिपूर्ण कार्यक्रम भएको भन्दै खुशी व्यक्त गर्नु भयो । लेखनमा आफ्नोपनसहितको छुट्टै र विशेष देखाउने पक्ष भनेकै आञ्चलिकताले गर्दा हो, त्यसैले यो कार्यपत्रसहितको छलफलले स्पष्ट बाटो देखाउने हुँदा कार्यपत्रमा उठेका कुरा पनि समावेश गरेर प्रकाशन गरिनेछ भन्नु भयो ।  

कार्यक्रमको दोश्रो सत्र

दोश्रो सत्रमा सिर्जना वाचनको क्रम चलेको थियो आ–आफ्ना सिर्जना वाचन गर्नेहरुमा– गीता कार्की, तुलसीहरि कोइराला, बाबा बस्नेत, सन्ध्या पहाडी, सरु सुवेदी, अर्जुन थापा, डा. धनप्रसाद सुवेदी (श्रमिक), डा. विन्दु शर्मा, बुद्धरत्न मानन्धर, लक्ष्मण रेग्मी, रामकृष्ण बस्नेत लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो । वाचित सिर्जनाका बारेमा समालोचक डा. विन्दु शर्माले भाव र सन्दर्भपरक टिप्पणी गर्नुभएको थियो ।

काठमाडौँ प्रवेश गर्ने पुरानो नाका भएकाले धेरै ऐतिहासिक महत्वको थलो चित्लाङमा भएका सम्पदाहरुको स्रष्टाहरुबाट दुई दिन नै अवलोकन गर्नेक्रम चलेको थियो । चारुमतिले बनाएको चारु विहार, भैरव मन्दिर, महाकविले यात्री कविता सिर्जना गरेको थलोस्थित् गुर्जुधारो, नेपालमै पहिलो पटक स्थापना भएको बाख्राको दूधबाट चिज उत्पादन गर्ने फ्याक्ट्री, ऐतिहासिक पाटीहरु, होमस्टेहरुको अवलोकन भ्रमणबाट यो कार्यक्रममा स्रष्टाहरुलाई महत्वपूर्ण उपलव्धि मिलेको निचोड निकालिएको थियो ।  

प्रतिवेदक : तुलसीहरि कोइराला

--------------------------------------------


--------------------------------------------------------------------


                                सौर्य दैनिक, वर्ष-७, अंक-१३६ बिहिवार, २१ असार २०७५ 

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा मिति २०७५ असार १६ गते चित्लाङ (थाहा नगरपालिका, मकवानपुर) आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र

नेपाली उपन्यासमा आञ्चलिकता : परम्परा र प्रवृत्ति 
- डा. धनप्रसाद सुवेदी (श्रमिक)

१. विषय सन्दर्भ 

कुनै खास क्षेत्रविशेषमा केन्द्रित रहेर त्यस क्षेत्रका प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि मौलिकता एवं विशेषताहरूको उजागर गर्ने प्रवृत्ति वा मान्यतालाई आञ्चलिकता भनिन्छ । ‘आञ्चलिकता’ खास गरेर साहित्य, कलाका क्षेत्रमा एउटा अलग्गै प्रवृत्ति र सिद्धान्तका रूपमा रहेको छ । संसारका हरेक भाषाको साहित्यमा धेरथोर रूपमा आञ्चलिकताको प्रयोग पाइन्छ । मान्छेमा स्वभावैले रहेबसेको, देखेभोगेको प्राकृतिक, सामाजिक तथा सांस्कृतिक पर्यावरणको प्रभाव पर्छ । त्यसमा पनि साहित्यकार त झन् आफ्नो जन्मभूमि, संस्कृति, परम्परा आदिप्रति बढी नै संवेदनशील र आकर्षित हुनेगर्छ । त्यसैले साहित्यमा आञ्चलिकता एउटा महत्त्वपूर्ण प्रवृत्तिका रूपमा रहने गरेको छ । आञ्चलिकता साहित्यका हरेक विधामा धेरथोर रूपमा प्रयोग हुन्छ र पनि यसको विशेष प्रयोग उपन्यास विधामा हुने गरेको छ । नेपाली उपन्यासमा पनि आञ्चलिकताको प्रयोग सघन रूपमा भएको पाइन्छ । यसैले नेपाली उपन्यासमा आञ्चलिकताको प्रयोग के कस्तो छ भन्ने बारेमा छलफल गर्न आवश्यक ठानी प्रस्तुत कार्यपत्र तयार पारिएको छ । यसमा सुरुदेखि वि.सं. २०६५ सालसम्मका नेपाली उपन्यासमा आञ्चलिकताको स्थितिको अध्ययन गरिएको छ ।  

२. आञ्चलिक उपन्यास  
आञ्चलिकता अङ्ग्रेजीको ‘रिजनालिजम्’ शब्दको नेपाली रूपान्तरण हो । ‘रिजनालिजम्’ शब्दको प्रयोग सर्वप्रथम इ. १७८९ तिर फ्रान्समा सरकारी संयन्त्रको विकेन्द्रीकरणका सन्दर्भमा भएको थियो । पछि फ्रान्स, इटाली, बेलायत, जर्मन, पोल्यान्ड आदि देशमा क्षेत्रीयता, प्रादेशिकता तथा केन्द्रीकृत राज्यव्यवस्थाका सट्टामा स्थानीय स्वशासनको माग राखी भएका आन्दोलनको प्रभावमा अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्रलगायत ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा साथै साहित्यका क्षेत्रमा पनि आञ्चलिकता एउटा मान्यताका रूपमा स्थापित हुन पुग्यो । 

आञ्चलिकताको सैद्धान्तिक मान्यता स्थापित हुनुभन्दा अगाडि नै आञ्चलिक साहित्यको लेखन बेलायतबाट भएको हो भने यसको सैद्धान्तिक प्रतिस्थापन अमेरिकाबाट भएको हो । बेलायती लेखक ओलिभर गोल्डस्मिथको द डिजर्टेड भिलेज (इ. १७७०) सबैभन्दा जेठो आञ्चलिक कृति र बेलायतकी उपन्यासकार मारिया इजवर्थ (इ. १७६७–१८४९) को कासल ¥याकरेन्ट (इ. १८००) विश्वसाहित्यकै पहिलो आञ्चलिक उपन्यास मानिन्छ । अमेरिकामा ‘सिभिल वार’ (इ. १८६१–१८६५) पछि क्षेत्रीय अवधारणाले प्रश्रय पायो । यसक्रममा अमेरिकाका पछि परेका क्षेत्रबाट रङ्गसम्बन्धी आन्दोलन सुरु भयो । अमेरिकी लेखक र समालोचकहरूले सन् १९३० तिर राष्ट्रिय साहित्यको उत्थानका लागि आफ्नाआफ्ना ठाउँ विशेषमा जोड दिनुपर्ने प्रस्ताव गरे र स्थानीय रङ्गप्रधान रचना लेख्न थाले, जसलाई ‘लोकल कलर मुभमेन्ट’ नाम दिइयो । यही अभियानले अन्ततः आञ्चलिकताको सैद्धान्तिक अवधारणा जन्मिन पुग्यो । आञ्चलिकताको एउटा अलग प्रवृत्तिका रूपमा स्थापित छ र यसको खास प्रयोग आख्यान विधा –उपन्यास र कथा) मा हुने गरेको छ । 

  आञ्चलिक उपन्यासमा कथाञ्चलका खासखास विशिष्टता स्पष्ट पार्न घटनाहरूको तार्किक विन्यास गररे कथानकको निर्माण गरिएको हुन्छ । यसमा कथाञ्चलको जीवन र समाजको यथार्थ स्पष्ट पार्न विभिन्न स्वभाव, रुचि र प्रवृत्तिका पात्रको सिर्जना हुन्छ । आञ्चलिक उपन्यासमा परिवेश तत्त्वको महत्त्वपूर्ण भूमिका हुन्छ । अञ्चलभित्रका विभिन्न स्थान, प्रकृति, संस्कृति आदिको चित्रण, प्राकृतिक सौन्दर्य वर्णन वा आलम्बनका रूपमा मात्र नभएर सम्बद्ध अञ्चलको समग्रता र विशिष्टता देखाउने उद्देश्यबाट गरिन्छ । उपन्यासमा पात्रको बोलीमा सम्बद्ध अञ्चलमा बोलिने भाषिकाको प्रयोग हुन सक्छ साथै स्थानीय उखान, लोकतत्त्व जनाउने शब्द विशेष, लोकमा प्रचलित भनाइ आदिको प्रयोग वाञ्छनीय देखिन्छ । 

आञ्चलिक उपन्यासमा अञ्चललाई मुख्य विषय मानेर त्यस अञ्चलको गहन चित्रण हुुने गर्छ । अञ्चलको समग्र जीवनचित्र स्पष्ट पार्न कथाञ्चलका चाडपर्व, उत्सव, परम्परा, मूल्य, मान्यता, विश्वास, दुःख, व्यथा, लोकसाहित्य, सङ्घर्ष, प्रवृत्ति, पुरानो र नयाँ मान्यताबिचको मूल्य, मान्यता र द्वन्द्व आदिको चित्रण  गरिएको हुन्छ । यसमा कथाञ्चलका भौगोलिक तथा प्राकृतिक पर्यावरण, अञ्चलविशेषका बासिन्दाको जातिगत विशिष्टता र मौलिकता, त्यहाँको सामाजिकता, ऐतिहासिकता,  आर्थिक स्थिति, राजनीतिक विशिष्टता, त्यहाँका समस्या, मनोभाव, सौन्दर्य चेतना लगायतका अञ्चलका खासखास विशिष्टताको चित्रण गरिन्छ । 

आञ्चलिक उपन्यासबाट कथाञ्चलका विशेषता पहिल्याउन सकिन्छ । साथै सम्बद्ध अञ्चलका राजनीतिक, सामाजिक, भाषिक, भौगोलिक विशेषता र समस्या आदिको पहिचान गरी तिनको समाधानका उपाय पत्ता लगाउन सकिन्छ । कथाअञ्चलको समाज, अर्थराजनीति, लोकसंस्कृति, चाडपर्व, खानपान, पोसाक, वाद्यवादन, जाति, वंश, धर्म, लोकसाहित्य, पशुपन्छी आदिका विशिष्टतालाई कलात्मक पुनर्सिर्जन गर्न सक्नु नै आञ्चलिक उपन्यासको विशिष्टता हो । यसैले आञ्चलिक उपन्यास साहित्यिक मूल्यका साथै समाजशास्त्रीय तथा मानवशस्त्रीय अध्ययनको विषय पनि बन्न सक्छ । 
आञ्चलिक उपन्यासले उपन्यास विधाको विस्तार गर्न सहयोग गर्नाका साथै सर्जकहरूलाई सहरबाट गाउँ र पिछडिएको क्षेत्रतिर ध्यान आकषर्ण गराएको छ । यसले सहर र सम्पन्न वर्ग मात्र होइन, पिछडिएको तथा उपेक्षित जाति र क्षेत्र पनि साहित्यको विषयवस्तु र विषय क्षेत्र हुनसक्छ भन्ने मान्यता स्थापित गरेको छ । यसले साहित्यमा क्षेत्रीय जीवन र क्षेत्रीय संस्कृतिको प्रवेश गराउँदै क्षेत्रीय, जातीय र सांस्कृतिक मूल्यबोधको खोजी गर्न सिकाएको छ । यसले सर्जक र पाठकलाई व्यक्तिबाट सामूहिकतातर्फ ध्यान खिचेको छ र यथार्थवादी साहित्यको आयाममा विस्तार गरेर सामान्य र सार्वभौम यथार्थ मात्र साहित्यको अभीष्ट हुन सक्तैन, आञ्चलिक र विशिष्ट यथार्थलाई पनि साहित्यले अँगाल्नु पर्दछ भन्ने मान्यतालाई स्थापित गरिदिएको छ । यसले भाषिक उत्थान तथा भाषिक मूल्यबोधको खोजी गर्न सिकाएको छ । देश, काल, परिवेशलाई केवल पृष्ठभूमिका रूपमा प्रयोग गर्ने परम्परालाई तोडेर यसले परिवेशलाई नवीन र सार्थक रूपमा प्रयोग गर्ने कार्यको थालनी गरेको छ । आञ्चलिक उपन्यासले अपरिचित क्षेत्र, जाति र संस्कृतिलाई प्रकाशमा ल्याउँछ र खासगरी ग्रामीण तथा पिछडिएका क्षेत्र र पछि परेका जाति र संस्कृतिको यथार्थलाई दुनियाँसामु ल्याइदिने हुनाले त्यस्ता क्षेत्र, जाति र संस्कृतिको सम्बद्र्धन र विकास गर्ने बाटो खुल्दछ । यिनै कारणले गर्दा आञ्चलिक उपन्यास र आञ्चलिक साहित्यको विशष्टि महŒव र योगदान रहेको छ । 

आञ्चलिक उपन्यासका केही सीमा पनि छन् । निश्चित भौगोलिक पर्यावरणभित्र सीमित रहने हुनाले भूगोलको सीमा तोडेर सार्वभौम सत्यको खोजी गर्न कठिनाइ हुन सक्छ । अञ्चल नै मूल विषय हुने हुनाले मान्छेका सार्वभौम बानी, व्यहोरा, गुण, दोष, आदिका चित्रण तर्फ चासो नहुन सक्छ । अञ्चलको बाह्य रूपप्रति बढी आकर्षण रहने हुनाले जीवनको गहिराइसम्म पुगेर अध्ययन गर्ने विषयमा आञ्चलिक उपन्यासको ध्यान नजान सक्छ । यसमा मान्छेको मनोविज्ञानको सार्वभौम पक्षको अध्ययन प्रायः हुँदैन । आञ्चलिक उपन्यासमा प्रतिनिधि कथानक नहुन सक्छ, प्रतिनिधि वा केन्द्रीय चरित्र पनि नहुन सक्छ साथै परिष्कृत र शास्त्रीय चरित्र हुँदैन । स्थानीय भाषाको प्रयोग र भाषिक विविधता हुन सक्ने भएकाले आञ्चलिक उपन्यासको अनुवाद गर्न कठिन देखिन्छ । साथै विश्वव्यापीकरणको अबको युगमा आञ्चलिक विशिष्टता बाँकी नरहने अवस्था सिर्जना हुँदैछ । सहरीकरणले मानिसका पृथक् मूल्य, मान्यता र संस्कृतिका सीमाहरू भत्काइ दिँदै छ । यसैले आञ्चलिकता आधुनिकता, प्रविधि र पुँजीवादी अर्थतन्त्रले आञ्चलिकता समाप्त गर्दै लगेको देखिन्छ । यति हुँदाहुँदै पनि मानिसले आफ्नो पुख्र्यौली संस्कृति, मूल्य, मान्यता, इतिहास र समग्रमा भन्दा स्वपहिचानलाई जोगाउन खोज्यो भने आञ्चलिकता समाप्त हुँदैन । ग्रामीण जीवनमा जस्तो आञ्चलिकताको सपाट स्वरूप त अब बिस्तारै नपाइएला तर सहरका पनि अलग्गै आञ्चलिकता भने बाँकी रहन्छ नै । त्यसैले अबको आञ्चलिकतालाई परम्परित परिभाषाबाट हेरेर नपुग्ने देखिन्छ । 

३. नेपाली आञ्चलिक उपन्यास परम्परा : सङ्क्षिप्त रेखाङ्कन 
नेपाली उपन्यासमा सर्वप्रथम नेपाली ठाउँ र नेपाली पात्रको प्रयोगको थालनी गिरीशवल्लभ जोशीद्वारा लेखिएको वीरचरित्रबाट भएको हो । रुद्रराज पाण्डेको रूपमतीबाट नेपाली उपन्यासमा सामाजको यथार्थको चित्रण हुन थाल्यो । भ्रमर, मुलुकबाहिर, माइतघर, लङ्गडाको साथी, बसाइ“ लगायतका उपन्यासहरू नेपाली ठाउँ, समाज र संस्कृतिको सघन पृष्ठभूमिको प्रयोग गरे । यिनै पृष्ठभूमिमा शङ्कर कोइरालाको खैरिनीघाट (२०१८) बाट नेपाली आञ्चलिक उपन्यासको लेखन सुरु भएको पाइन्छ । यस परम्परामा ध.च. गोतामेको घामका पाइलाहरू,  रमेश विकलको अविरल बग्दछ इन्द्रावती,  ध्रुवचन्द्र गौतमको अलिखित, लीलबहादुर क्षत्रीको ब्रह्मपुत्रका छेउछाउ, नयनराज पाण्डेको उलार जस्ता आञ्चलिक उपन्यासहरू लेखिएका छन् । आञ्चलिकता नै मुख्य विषयका रूपमा र अरु विषयको चित्रणका पृष्ठभूमिमा आञ्चलिकताको सघन प्रयोगका आधारमा पूर्ण आञ्चलिक र आंशिक आञ्चलिक गरी वर्गीकरण गर्न सकिन्छ । नेपाली आञ्चलिक उपन्यासको विवरण यहाँ प्रस्तुत गरिएको छ :

नेपाली आञ्चलिक उपन्यास
क्रम              उपन्यास          विषय                      मुख्य क्षेत्र 
खैरिनीघाट (२०१८) पूर्ण रामेछाप र सिन्धुली जिल्लाको सिमानामा रहेको सुनकोशीको तटीय क्षेत्रका कोथपे र आसपासको क्षेत्र
ओझेल पर्दा (२०२२) आंशिक  खोटाङ र भोजपुरको सिमानामा पर्ने टेम्केडाँडो र आसपासको गाउँ
मेरो कथा / आंशिक  कास्की जिल्लाको लुम्ले र त्यस आसपासको क्षेत्र
उज्यालो हुनुअघि (२०२८) पूर्ण  गोर्खा जिल्लाको ओलाङ, खिम्पु, अपुन, सिस्ने, प्रेपुङ आदि गाउँको स्थानीय सेरोफेरोको
मने (२०३०) आंशिक दार्जिलिङको चिया बगान । 
हेलम्बु मेरो गाउँ (२०३२) पूर्ण  हेलम्बु गाउँको सेरोफेरो
रोदी घरको सम्झना (२०३३) पूर्ण  कास्की जिल्लाको एउटा काल्पनिक गाउँ मलाङ
घामका पाइलाहरू  पूर्ण  सहरीकरण हुँदै गरको वीरगन्ज
नयाँ क्षितिजको खोज  आंशिक  दार्जिलिङ र आसपासको क्षेत्र 
१० नियति  आंशिक  दार्जिलिङको फारसबस्ती, त्यहाँको गोरुजुरे डाँडा र त्यस आसपास
११ अविरल बग्दछ इन्द्रावती पूर्ण  इन्द्रावती तटमा रहेको माझी दनुवार गाउँ
१२ अलिखित पूर्ण  वारा जिल्लाका धरमपुर तथा विरहिनपुर बरेवा
१३ यहाँदेखि त्यहाँसम्म  पूर्ण  बारा जिल्लाको मुर्कीपलिया
१४ ब्रह्मपुत्रका छेछाउ पूर्ण  ब्रह्मपुत्र नदीको छेउछाउका कछुवाउँ, बयरआँटी, पछुमारा, महखुँट्टी,                                                       मछुवापाडा, सदिया, मैनापाडा आदि नेपालीहरूको बसोवास क्षेत्र
१५ हिमाल र मान्छे पूर्ण  सोलुखुम्बु जिल्लाको खुम्जुङ, थामे र खुन्द्रे गाउँको सेरोफेरो 
१६ हारी  पूर्ण  धनकुटा जिल्लाका कटहरबोटे, साँगुरी, धारापानी आदि गाउँ
१७ नौमती  पूर्ण         कर्णाली क्षेत्रका डोरपाटन, थापागाउँ, जोगीवाडा, रावलवाडा, दराखोला,                                               खडकावाडा, डुमवाडा, रकालवाडा, मालिका पञ्चायत, कालिका पञ्चायत
१८ क्षितिज पारिमा आंशिक  खोटाङ जिल्लाको दोर्पा, ब्वासुङ, लामाखु
१९ छिटेन  आंशिक  मनाङ गाउँ, पिसाङ गाउँ, घ्यारु गाउँ, ङावल गाउँ र यस आसपासको क्षेत्र
२० उलार  पूर्ण  नेपालगञ्ज र वरपरका शमशेरगन्ज, हनुमाननगर, बगौड
२१ कालो कर्णाली सेतो छायाँ  पूर्ण  कर्णालीको भट्टवाडा र त्यसको आसपास
२२ जूनकिरीको सङ्गीत आंशिक  पर्वत जिल्लाको सिमरिङ गाउँ र आसपासका दलित बस्ती
२३ गन्तव्य  पूर्ण  कैलाली र कञ्चलपुरका थारु बस्ती 

 ४. नेपाली आञ्चलिक उपन्यासका मुख्य प्रवृत्ति  

नेपाली आञ्चलिक उपन्यासका मुख्य प्रवृत्तिहरू यस प्रकार छन् : 

(क) ग्रामीण अञ्चलमा केन्द्रत  
नेपाली आञ्चलिक उपन्यास प्रायः ग्रामीण तथा पिछडिएको अञ्चलमा केन्द्रित छन् । घामका पाइलाहरू र उलार बाहेक सबै आञ्चलिक उपन्यास ग्रामीण कथाञ्चलमा छन् । नेपालबाहिरका अञ्चलमा केन्द्रित नेपाली भाषाका आञ्चलिक उपन्यासमा पनि नेपाली जातिको बसोबास रहेको तर पिछडिएको अञ्चल आएको छ । घामका पाइलाहरू भर्खरै सहरीकरण हुँदै गरेको वीरगन्ज सहर र उलार उपन्यास नेपालगन्ज सहरमा केन्द्रित छन् । 

(ख) भौगोलिक विविधता र विकटताको चित्रण
नेपाली आञ्चलिक उपन्यासले नेपालको भौगोलिक विविधताको चित्रण गरेका छन् । भारतीय भूमि कथाञ्चल बनाइएका उपन्यासमा पनि यो प्रवृत्ति पाइन्छ । नेपाली आञ्चलिक उपन्यासको अध्ययनबाट नेपाल भौगोलिक विविधता भएको देश हो भन्ने स्पष्ट हुन्छ । पहाडी अञ्चलमा केन्द्रित एउटै उपन्यासको एउटै अञ्चलमा कतै उकालो, कतै ओरालो, कतै भिर, कतै समथर भूमि, कतै उपत्यका, कतै लेक, कतै बेँसी, कतै जाडो हुने, कतै गर्मी हुने जस्ता विविधता रहेको चित्रण गरिएको छ । खैरिनीघाटको खैरिनीघाट आसपासमा ज्यामिरेमा चिसो सिरेटो चल्छ, खैरिनीघाटमा दिउँसो चर्को गर्मी हुन्छ भने नेपालथोकमा त वर्षको छ महिना औलो लाग्छ । रोदीघरको सम्झना उपन्यासको कथाञ्चलका रूपमा रहेको मलाङ लेक र बेँसीमा बाँडिएको छ । लेकमा जाडो हुन्छ, उब्जनी कम हुन्छ । बेँसीमा गर्मी हुन्छ, उब्जनी राम्रो हुन्छ । हेलम्बु मेरो गाउँ, हिमाल र मान्छे, नौमती र कालो कर्णालीको सेतो छाया“ उपन्यासमा हिमाली क्षेत्रको कथाञ्चल आएको छ । हिमाली क्षेत्रमा पनि कतै समथर घाँसे मैदान, कतै उपत्यका, कतै उच्च हिमाल, कतै उब्जाउशील जमिन, कतै भिर, कतै हिमनदी जस्ता विविधता पाइन्छ । तराई अञ्चलमा केन्द्रित घामका पाइलाहरू, अलिखित, यहाँदेखि त्यहाँसम्म र उलार उपन्यासका कथाञ्चलमा समथर भूमि भए पनि खोला, जङ्गल, माटोजस्ता विषयमा भने विविधता पाइन्छ । 

नेपाली आञ्चलिक उपन्यासमा भौगोलिक विविधताका साथै विकटताको पनि चित्रण गरिएको छ । नेपाली आञ्चलिक उपन्यासमा आएका हिमाली, पहाडी तथा तराई सबै कथाञ्चलमा बाटोघाटो र यातायातको असुविधा रहेको देखाइएको छ । अलिखित उपन्यासमा तराईको समथर भूमि आएको छ । त्यहाँको बाटामा बाघभालुको भय हुने डर लाग्दो जङ्गल, हिउँदमा धेरै धुलो उड्ने, वर्षामा हिलो हुने तथा सर्पको अत्यन्तै डर हुने जस्ता कठिनाइको वर्णन पाइन्छ । आञ्चलिक उपन्यासमा आएका सबै अञ्चलमा गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता आधारभूत आवश्यकताको अभाव रहेको  देखिन्छ । घामका पाइलाहरू उपन्यासमा आएको वीरगन्ज सहर र उलार उपन्यासमा आएको नेपालगन्जमा समेत गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता विषयको अभाव र अव्यवस्था रहेको छ । यो प्रवृत्ति अन्य आञ्चलिक उपन्यासमा पनि पाइन्छ ।

(ग)  नदी किनार तथा जलाशयको चित्रण
  नेपाली आञ्चलिक उपन्यासमा नदी किनारको परिवेशलाई कथाञ्चल बनाउने र नदीमा केन्द्रित नभएका उपन्यासमा पनि कथाञ्चलभित्रका नदी र जलाशयको चित्रणमा विशेष जोड दिने प्रवृत्ति पाइन्छ । खैरिनीघाट उपन्यासमा सुनकोशी तथा रोसी नदीका किनारको परिवेशको चित्रण गरिएको छ । यसमा सुनकोशीमा माछा मारेको, डुङ्गा तारेको, भेडा डुब्दा पौडेर निकालेको, खैरिनीघाटमा मेला लागेको जस्ता सन्दर्भ आएका छन् । ‘खैरिनीघाट’ शीर्षकले समेत नदी किनारलाई सङ्केत गरेको छ । अविरल बग्दछ इन्द्रावतीमा इन्द्रावती नदीमा माछा मारेको, पौडी खेलेका, बाढी आएको र त्यसले नदी किनारमा बस्ने माझीहरूमा विपत्ति ल्याइदिएको विषय नै मूल रूपमा आएको छ । यसको शीर्षकले स्पष्टतः नदी र त्यससँग सम्बन्धित भन्ने अर्थ दिएको छ । अलिखितमा पसाहा नदीमा पौडी खेलेको, बाढी आएको जस्ता सन्दर्भ आएका छन् । यसमा दोरहन्तल पोखरीका बारेमा विशेष चर्चा गरिएको छ । ब्रह्मपुत्रका छेउछाउ उपन्यासमा ब्रह्मपुत्र नदीकै परिवेशमा केन्द्रित छ । यसमा ब्रह्मपुत्र नदीलाई अभिशाप र वरदान दुवैका रूपमा चित्रण गरिएको छ । उज्यालो हुनुअघिमा चेपे खोलाको सन्दर्भ आएको छ । घामका पाइलाहरूमा वीरगन्जका नदी र पोखरीको सन्दर्भ आएको छ । कालो कर्णालीको सेतो छायाँ मा रारातालको वर्णन गरिएको छ ।

नदी तथा जलाशयको चित्रणको प्रवृत्ति अन्य आञ्चलिक तथा आंशिक आञ्चलिक उपन्यासमा पनि पाइन्छ । यहाँदेखि त्यहाँसम्म उपन्यासमा कथाञ्चलभित्रका गाउँ मुर्कीपलिया मुर्की नदीबाट पालित र अर्को गाउँ गडहल तियर नदीद्वारा सिञ्चित भनी वर्णन गरिएको  छ । यसमा तियर, मुर्की, पसाह, थलही आदि नदीका विशेषताको वर्णन गरिएको छ । हिमाल र मान्छेमा दुधकोशी, दुधपोखरी आदिको चर्चा गरिएको छ । हारीमा सप्तकोशी, तमोर, मनुवादह जस्ता नदी र तिनका विषयमा रहेका विभिन्न किंवदन्ती समेतको चर्चा गरिएको छ । ओझेल पर्दामा साप्सुखोला, लप्सेखोला, मेवा खोला तथा कोशीको उल्लेख गरिएको छ । जूनकीरीको सङ्गीतमा स्थानीय कुवाको सन्दर्भको वर्णन गरिएको छ । 

(घ)  जातीय विविधतायुक्त समाजको प्रतिबिम्बन
नेपाली आञ्चलिक उपन्यासमा जातीय विविधता भएको समाजको प्रतिबिम्बन गर्ने प्रवृत्ति पाइन्छ । खैरिनीघाट उपन्यासको कथाञ्चलमा माझी, तामाङ, मगर, नेवार, बाहुन, क्षेत्री, जैसी जस्ता विविध जाति रहेको देखिन्छ । उज्यालो हुनुअघिको कथाञ्चलमा सार्की, कामी, घर्ती, गुरुङ, बाहुन, क्षेत्री जस्ता विविध जाति छन् । रोदीघरको सम्झनामा गुरुङ, बाहुन, जैसी, छेत्री, कामी, थकाली जस्ता विविध जाति आएका छन् । घामका पाइलाहरू उपन्यासको कथाञ्चलमा मुसलमान, बङ्गाली, बाहुन, क्षेत्री जस्ता विविध जाति रहेको देखिन्छ । त्यसै गरी अविरल बग्दछ इन्द्रावतीमा माझी, सन्यासी, बाहुन, क्षेत्री जस्ता जाति रहेका छन् । अलिखित उपन्यासमा तराईका भोजपुरी भाषी र विविध जाति रहेका छन् । त्यहाँ अति पिछडिएका मुसहर जाति रहेको देखिन्छ । त्यस्तै ब्रह्मपुत्रका छेउछाउमा नेपाली मूलका विविध जाति, बङ्गाली, आसामे आदि जाति छन् । नौमतीमा बाहुन, क्षेत्री, घर्ती, ढोली (दमाई) जस्ता विविध जाति रहेको देखिन्छ । उलारमा तराईका वादी, घँसियार लगायतका विविध जाति छन् । कालो कर्णालीको सेतो छायामा बाहुन, छेत्री, मगर, तामाङ जस्ता जाति छन् । 

जातीय विविधतायुक्त समाजको चित्रण गर्ने प्रवृत्ति अन्य आञ्चलिक तथा आंशिक आञ्चलिक उपन्यासमा पनि पाइन्छ । हेलम्बु मेरो गाउँको कथाञ्चलमा विशेषतः सेर्पा र केही मात्रामा बाहुन, क्षेत्री जस्ता जाति बस्छन् । यहाँदेखि त्यहाँसम्म उपन्यासको कथाञ्चलमा पहाड तथा तराईका विविध जाति रहेको देखिन्छ । यसमा नेपाली समाजमा जातिअनुसार अलगअलग पेसा कायम भएकाले एउटा समाजको पूर्णताका लागि विभिन्न जातिका मानिस आवश्यक पर्छ भन्ने देखाइएको छ । गन्तव्यमा थारू, बाहुन लगायतका जाति छन् । 

केही उपन्यासमा विविध जातिका मानिसको बसोबास भएको समाजबाट कुनै जाति विशेषको चित्रण जोड दिइएको छ । खैरिनीघाटमा विभिन्न जातिमध्ये माझी, उज्यालो हुनुअघिमा विशेषतः दलित (सार्की) र घर्ती, हेलम्बु मेरो गाउँमा सेर्पा, रोदी घरको सम्झनामा गुरुङ, कामी तथा बाहुन, अविरल बग्दछ इन्द्रावतीमा माझी, अलिखितमा मुसहर, हारीमा आठपहरिया राई, नौमतीमा घर्ती तथा छेत्री, उलारमा टाँगा चालक पेसा, घँसियार पेसा र वादी जाति विशेष, गन्तव्यमा कमैया थारू जाति विशेषको समाजको चित्रणमा जोड दिइएको छ । यस्तो प्रवृत्ति आंशिक आञ्चलिक उपन्यासमा पनि पाइन्छ । ओझेल पर्दामा सेर्पा, मेरो कथामा गुरुङ, क्षितिज पारिमामा राई, छिटेनमा गुरुङ, जूनकीरीको सङ्गीतमा दलित जाति विशेषको समाजको चित्रणमा जोड दिइएको छ । केही आञ्चलिक उपन्यासमा भने कुनै एउटा जाति विशेषको मात्रै बसोबास रहेको समाज आएको छ । हिमाल र मान्छे उपन्यासको कथाञ्चलमा सेर्पा जाति मात्र छन् । 

(ङ) जातीय तथा सांस्कृतिक सहिष्णुता र विभेदको चित्रण
नेपाली आञ्चलिक उपन्यासका कथाञ्चलमा जातीय विविधताका साथै सांस्कृतिक विविधता पनि रहेको पाइन्छ । एउटै समाजमा समेत जातीय तथा सांस्कृतिक विविधता  पाइन्छ । उही जातिका पनि भिन्न अञ्चलमा केही विशिष्टता सहितको भिन्न संस्कृति पाइन्छ । हेलम्बु मेरो गाउँ र हिमाल र मान्छे उपन्यासमा सेर्पा जातिको संस्कृति आएको छ तर यी दुई भिन्न अञ्चलका उही जातिका संस्कृतिमा कतिपय समानता र कतिपय भिन्नता रहेका छन् । खैरिनीघाट र अविरल बग्दछ इन्द्रावतीका माझीका बीचमा पनि केही समानता र भिन्नता रहेको देखिन्छ । उज्यालो हुनुअघिमा कथाञ्चलभित्रको छापास्वाँराका दलितमा सिनु खाने चलनको चर्चा गरिएको छैन । जूनकीरीको सङ्गीत उपन्यासको कथाञ्चल पर्वतको दलित समाजमा सिनु खाने चलन विकराल रूपमा रहेको छ । 

नेपाली आञ्चलिक उपन्यासमा जातीय तथा सांस्कृतिक विविधताभित्र सहिष्णुता रहेको देखाइएको छ । एउटै गाउँठाउँमा विभिन्न जाति र संस्कृति बीचमा आपसी सद्भाव र सहिष्णुता देखिन्छ । हेलम्बु मेरो गाउँमा हिन्दू र बौद्ध संस्कृति बीचमा उच्च प्रकारको सहिष्णुता रहेको देखाइएको छ । ब्रह्मपुत्रका छेउछाउ उपन्यासमा नेपाली र आसामिया जातिका बीचको सांस्कृतिक सहिष्णुताको चर्चा गरिएको छ । घामका पाइलाहरू उपन्यासमा पवन (नेपाली) र अणु (बङ्गाली) को मित्रताका माध्यमबाट विविध संस्कृतिका बीचमा सहिष्णुताको चाहना प्रकट गरिएको छ । नेपाली आञ्चलिक उपन्यासमा जातीय तथा सांस्कृतिक सहिष्णुताको साथैसाथै जातीय विभेद र धार्मिक द्वन्द्वको पनि चित्रण गरिएको छ । नेपाली समाजमा रहेको छुवाछुत प्रथाको चित्रणलाई आञ्चलिक उपन्यासमा जोड दिइएको छ । उलार उपन्यासमा नेपालगन्जमा हिन्दू र मुसलमानबीच धार्मिक द्वन्द्व र त्यसले पारेको प्रभावको चर्चा गरिएको छ । 

(च) गरिब तथा विपन्न वर्गको चित्रणमा चासो  
नेपाली आञ्चलिक उपन्यासले गरिब तथा विपन्न वर्गको विशेष चित्रण गर्ने प्रवृत्ति पाइन्छ । नेपाली आञ्चलिक उपन्यासका आधारमा हेर्दा नेपालका हरेक क्षेत्रमा गरिबी र विपन्नता रहेको देखिन्छ । खैरिनीघाट उपन्यासमा रामेछाप क्षेत्रको गरिबी तथा बेरोजगारी अवस्थाको चित्रण गरिएको छ । उज्यालो हुनुअघि उपन्यासमा गोर्खा जिल्ला क्षेत्रको गरिबी र विपन्नताको चित्रण गरिएको छ । रोदीघरको सम्झनामा कास्कीको मलाङ गाउँको गरिबीको चित्रण गरिएको छ । घामका पाइलाहरूमा वीरगन्ज सहरमा सानोतिनो काम गरेर बाँच्न विवश रहेकाहरूको गरिबी र विपन्नताको चित्रण गरिएको छ । अविरल बग्दछ इन्द्रावती उपन्यासमा कथाञ्चलका स्थानीय माझी जातिको गरिबी र तिनीहरूप्रति सहानुभूति राखेको पाइन्छ । अलिखित उपन्यासमा गरिबीको दर्दनाक चित्रण गरिएको छ । यसमा तराईका मुसहर लगायतका गरिबहरूको गरिबी र विपन्नताको चित्रण गरिएको छ । कथाञ्चलको गरिबीको विकराल अवस्थाको चित्रणलाई यस उपन्यासमा जोड दिइएको छ । त्यहाँ भरपेट खान र जिउ ढाक्ने कपडा समेत नपाइने अवस्था रहेको देखाइएको छ । त्यहाँका मुसहर जातिका मानिस सुँगुरको जस्तो तल्लो स्तरको जीवन जिउन बाध्य रहेको देखाइएको छ । यस उपन्यासको कथाञ्चलमा भरपेट चामलको भात खान पाउनु नै आदर्श कल्पना हुने गरेको देखाइएको छ । ब्रह्मपुत्रका छेउछाउ उपन्यासमा गरिबीले आक्रान्त भएर काम र मामको खोजीमा भारतको आसाम पुगेका नेपालीको गरिबी र विपन्नताको चित्रण गरिएको छ । नौमती उपन्यासमा कर्णाली अञ्चलका मानिसहरूको गरिबीको विकराल स्थितिको चित्रण गरिएको छ । उलारमा गरिबीकै कारण वादी महिलाहरू शरीर बेच्न बाध्य भएको, गरिबीका कारण यस उपन्यासको मुख्य पात्र प्रेमललवाले बिहे गर्न नसकेको, खान नपाएको जस्ता विषय आएका छन् । कालो कर्णालीको सेतो छायामा कर्णाली क्षेत्रको गरिबीको चित्रण गरिएको छ । त्यस्तै हेलम्बु मेरो गाउँमा हेलम्बु क्षेत्रको गरिबीको चित्रण गरिएको छ । यहाँदेखि त्यहाँसम्म उपन्यासमा मुर्कीपलिया तथा गडहलका गरिबहरूको अवस्थाको चित्रण गरिएको छ । हिमाल र मान्छे उपन्यासमा गरिबीका कारण केही रुपैयाँका लोभमा कुनै मानिसलाई विष हाल्न समेत तत्पर हुने पात्रसमेत रहेका छन् । हारी उपन्यास एउटा हारी किन्ने पैसा (सैतीस रूपैयाँ) नभएर घर छाड्न विवश भएको कंसा नामको पात्रको केन्द्रीयतामा रहेको छ । गन्तव्यमा गरिबीकै कारण मानिसहरू कमैया, कमलरी बस्नु परेको र नेपालको पश्चिम तराईमा रहेको कमैया समस्याको मुख्य कारण गरिबी हो भनिएको छ । यसमा कमैयाहरू मुक्त भएर पनि गरिबीका कारण पुनः कमैया बन्नु पर्ने अवस्था रहेको देखाइएको छ । 

नेपाली आञ्चलिक उपन्यासमा गरिबीको चित्रणका साथै गरिब वर्गप्रति सहानुभूति तथा पक्षधरता राखेको पाइन्छ । सबैजसो आञ्चलिक उपन्यासमा पात्रहरूलाई धनी र गरिब वर्गमा वर्गीकरण गरिएको पाइन्छ र गरिब वर्गका पात्रप्रति सहानुभूति दर्साइएको छ । अबिरल बग्दछ इन्द्रावती र नौमती उपन्यासमा गरिब वर्गले धनी शोषकका विरुद्ध लड्नु पर्ने आग्रह गरिएको छ । कालो कर्णालीको सेतो छायामा आधुनिक खेती, शिक्षा, स्वास्थ्य आदिमा ध्यान दिएर गरिबी हटाउनु पर्ने विचार प्रकट गरिएको छ । उलारमा धनी र शोषकहरू आफ्नो वर्गको स्वार्थमा एक भएका हुन्छन् गरिब वर्ग पनि आफ्नो वर्गको हितमा एक हुनु पर्छ भन्ने आशय व्यक्त गरिएको छ । 

(छ) कृषिमा निर्भर अर्थतन्त्रको चित्रण 
नेपाली आञ्चलिक उपन्यासमा ग्रामीण तथा कृषिमा निर्भर अर्थतन्त्रको चित्रण गरिएको पाइन्छ । यिनमा पुँजीको विकास नभएको, उद्योग, कारखाना खासै नभएका र उत्पादनको मुख्य आधार नै कृषि भएको आर्थिक ढाँचाको चित्रण गरिएको छ । यस आर्थिक ढाँचामा जग्गा तथा पशुको स्वामित्व केही सीमित टाठाबाठा मानिसमा हुन्छ । आम मानिस तिनै मालिकहरूको अधीनमा रहनुपर्छ । यस अर्थतन्त्रले राजनीतिमा प्रत्यक्ष प्रभाव पार्छ । गाउँठाउँको सामन्त (धनी) मानिस नै त्यस क्षेत्रको राजनीतिक नेता÷प्रतिनिधि हुन्छ । त्यहाँको न्याय, शान्ति सुरक्षा पनि तिनै सामन्तहरूको हातमा हुन्छ । फलतः त्यहाँका आम मानिस भने सदैव पीडित हुन्छन् ।  प्रायः सबै नेपाली आञ्चलिक उपन्यासमा यस्तै प्रकारको आर्थिक ढाँचाको चित्रण गरिएको छ । तर यसको आधारभूत चरित्र उस्तै भए पनि भिन्न भिन्न उपन्यासमा कथाञ्चलको विशिष्टताअनुसार आर्थिक उपार्जनका तरिका, खर्चको शैली आदिमा भने फरक पाइन्छ । लेकमा खेतीभन्दा पशुपालनले प्रश्रय पाउने, बेँसी र तराईमा खेतीमा जोड दिइने, सहरी इलाकामा व्यापार, टाँगा चालक, पोस्टर टाँस्ने, महिलाहरूले यौन व्यवसाय चलाउने, नदी किनारमा माछा मार्ने जस्ता स्थानीय विशिष्टताअनुसारका पेसा हुने गरेको पाइन्छ । 

(ज) शोषण, उत्पीडन र दमनका विविध रूपको चित्रण
नेपाली आञ्चलिक उपन्यासमा शोषण, उत्पीडन तथा दमनका विविध रूपको चित्रण गरिएको पाइन्छ । नेपाली आञ्चलिक उपन्यासमा श्रम शोषण, यौन शोषण, जातीय विभेद, लैङ्गिक विभेद आदिको चित्रण गरिएको पाइन्छ । स्थानीय सर्वसाधारण मानिसले चर्को आर्थिक शोषण सहनुपरेको देखाइएको छ । खैरिनीघाटमा मिजार, जिम्मावालहरूले गर्ने श्रम शोषण, ठगी र अड्डाको डिट्ठाले धुरीकरका नाममा गर्ने गरेको शोषणको चित्रण गरिएको छ । उज्यालो हुनुअघिमा स्थानीय टाठाबाठाले गर्ने शोषण तथा अड्डाका कर्मचारीले माग्ने घुसको चित्रण गरिएको छ । रोदीघरको सम्झनामा स्थानीय डिट्ठाका ठगी र श्रम शोषणको चित्रण गरिएको छ । घामका पाइलाहरूमा स्थानीय व्यापारीको ठगी तथा कालोबजारीको चर्चा गरिएको छ । अविरल बग्दछ इन्द्रावतीमा काजी खलकले माझी जाति माथि गरेको श्रमशोषण, सर्वसाधारणको जग्गा हडप्ने काम, विरोधीलाई मार्ने जस्ता कुकृत्यकोे चित्रण गरिएको छ । अलिखितमा गाउँको मुखिया, प्रधानले गर्ने गरेको श्रमशोषण, आर्थिक शोषण, विरोधीहरूको हत्या जस्ता अपराध समेतको चित्रण गरिएको छ । ब्रह्मपुत्रका छेउछाउ उपन्यासमा डेरी मालिकले कामदारमाथि गरेको श्रमशोषण, प्रवासी नेपाली माथि आसामका रैथाने र लठैतहरूको ज्यादतको चित्रण गरिएको छ । नौमती उपन्यासमा गाउँका सामन्त, पञ्चहरूले गर्ने गरेको शोषणको चर्को रूपको चित्रण गरिएको छ । उलारमा स्थानीय नेताले सर्वसाधारणको जग्गा सस्तो दाममा हात पार्ने, पुलिसले वादी महिलासँग बिना पैसा यौन सम्पर्क राख्ने, कवि हुँ भन्नेले गरिब प्रेमललवासँग रिन भनी मागेको रुपियाँ नतिरी भाग्ने जस्ता शोषणका रूपको चर्चा गरिएको  छ ।

नेपाली आञ्चलिक उपन्यासमा राजनीतिक विकृति तथा राजनीतिक शोषण, उत्पीडनका विविध रूपको चित्रण पनि  पाइन्छ । खैरिनीघाटमा मिजार, जिम्मावाल र अड्डाको डिट्ठाले आलुको नक्कली छाप बनाएर पैसा उठाएका छन् । उज्यालो हुनुअघिमा पञ्चहरूले स्त्री चौपाय काटेको भनी सर्वसाधारणबाट पैसा खाने, कसैले अवैध गर्भ बोकेमा विभिन्न मानिसलाई यातना दिई झुट्टो बोल्न विवश पारेर पैसा असुल्ने जस्ता शोषण गरेका छन् । रोदीघरको सम्झनामा आफ्ना विरोधीलाई राणाविरोधी भएको भुठो आरोप लगाएर जेल पठाएको विषय आएको छ । अविरल बग्दछ इन्द्रावतीमा सानो काजीले प्रधानपञ्चको चुनावमा आफ्ना विरुद्ध उठ्ने हरिकृष्ण सन्यासी र विरोधीलाई सघाउने देवु पनेरुलाई गोली हानी मारेको छ । यसमा काजी खलक, पञ्च, प्रशासक, पुलिसहरू सत्ताका आडमा कथाञ्चलमा आएर जनताबाट खसी, घिउ, माछा आदि सित्तैमा खाने, युवतीलाई जबरजस्ती यौनसम्पर्क गर्न बाध्य बनाउने गर्छन् । घामका पाइलाहरूमा ठानेदारको क्रूरताको चित्रण गरिएको छ । यसमा सुधारवादी राणा प्रधानमन्त्री देव शमशेरका सुधारका कार्यक्रमलाई लागू गर्न नदिन उनकै भाइ चन्द्रशमशेरले सत्ताच्युत गरेको ऐतिहासिक राजनीतिक विकृतिको स्मरण गरिएको छ । अलिखितमा गाउँको मुखिया, अड्डाका कर्मचारी आदिले सित्तैमा जनताका कुखुरा, घिउ खाने गरेको, गरिब जनतालाई रक्सी खुवाएर मत किन्ने गरेको, विरोधीलाई कुट्ने, पिट्ने, झुट्टा मुद्दा लगाएर जेल पठाउने र मार्ने सम्मका काम गरेको देखाइएको छ । ब्रह्मपुत्रका छेउछाउ उपन्यासमा साधारण गरिब जनतालाई रक्सी खुवाएर मत किनेर चुनाव जित्ने, विरोधीलाई कुट्ने, पिट्ने गरिएको देखाइएको छ । नौमती उपन्यासमा पञ्च, कर्मचारी र पुलिसले सत्ताका आडमा सर्वसाधारणलाई झुट्टा अभियोग लगाएर कुटपिट गर्ने, बेइज्जत गर्ने र चर्को दण्ड गराएर मानिसको उठिबास लगाउने गरेको देखाइएको छ । यसमा पञ्चायती राजनीतिका यस्ता विकृतिप्रति तीव्र असन्तोष र घृणा व्यक्त गरिएको छ । राजनीतिक विकृतिको चित्रणमा उलार उपन्यास सशक्त छ । यसमा २०४७ पछिको स्थानीय राजनीतिका विकृतिको चित्रण गरिएको छ । यसमा स्थानीय नेताहरू जनताको हितका लागि नभएर आफ्नो व्यक्तिगत फाइदाका लागि जनविरोधी र जनताको शोषण गर्ने काममा लागेको देखाइएको छ ।  राजनीति शोषणको चित्रण अन्य नेपाली आञ्चलिक उपन्यासमा पनि पाइन्छ । 

नेपाली आञ्चलिक उपन्यासमा लैङ्गिक विभेद, नारी उत्पीडन र यौन शोषणको चित्रण गरिएको पाइन्छ ।  युवतीहरूलाई मेला जात्राबाट बलिया केटाहरूले जबरजस्ती घिसारेर लगी स्वास्नी बनाउने गरेको, युवतीहरूले आफूभन्दा धेरै जेठो, बुढो र सौता भएको लोग्ने मानिसँग पनि बिहे गर्न विवश भएको र दलित युवतीहरूले माथिल्ला जातका केटासँग जबरजस्ती यौन सम्पर्क राख्नु पर्ने अवस्था रहेका, धनीमानी शोषकहरूले गरिब मानिसका छोरी बुहारीको यौनशोषण गर्ने गरेको, पुरुष बाहिरफेर डुल्ने र घरको सारा काम भने महिलाले गर्नु परेको देखाइएको छ । त्यस्तै कट्टरवादी पण्डित समेत गोप्य रूपमा तल्ला र अछुत भनिने जातिका केटीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने तर अरूले त्यस प्रकारको सम्बन्ध राखेकामा भने दण्ड सजाय दिलाउन अग्रसर हुने गरेको देखाइएको छ । साथै महिलाहरूले दस वर्ष पुग्दा नपुग्दै जबरजस्ती बिहे गर्नु पर्ने, विधवाले अर्को विवाह गर्न नपाउने, गाउँको सामन्त तथा अन्य पुरुषले महिलाहरूलाई एकान्तमा भेटेमा जबरजस्ती यौनशोषण गर्ने जस्ता यथार्थको चर्चा गरिएको छ । 

नेपाली आञ्चलिक उपन्यासमा दलित समुदायमाथि हुने गरेको शोषण र उत्पीडनको चित्रण गरिएको छ । क्षेत्री, बाहुन र अन्य जातिका ठिटाहरूले दलित युवतीमाथि जबरजस्ती यौन शोषण गर्ने गरेको देखाइएको छ । छुवाछुत प्रथाको चित्रण पनि गरिएको छ । दलित युवतीसँग बिहे गरेका कारण हुक्कापानीबाट अलग गराइ जातिच्युत गरिएको देखाइएको छ । दलितकै विषयमा केन्द्रित जूनकीरीको सङ्गीत उपन्यासमा दलित समाजको गरिबी, अशिक्षा, सिनु खाने चलन र त्यसले सिर्जना गर्ने समस्या आदिको चित्रण गरिएको छ । यसमा दलित दलित बीचमै पनि विभेद र छुवाछुतको भेदभाव छ भन्ने देखाइएको छ । अधिकांश आञ्चलिक उपन्यासमा दलितमाथिको विभेदको चित्रण गरिएको हुँदा नेपालमा दलितमाथि विभेद छ भन्ने स्पष्ट हुन्छ, तर दलितमाथिको विभेद र शोषणको मात्रा भने सबैतिर समान रूपमा चित्रित छैन । खैरिनीघाट (पूर्वी नेपाल) को तामाङ समाजमा दलितप्रतिको छुवाछुत भेदभाव खासै छैन र पूर्वी नेपालका क्षेत्रमा कथाञ्चल बनाइएका आञ्चलिक उपन्यासमा दलितका सामान्य प्रसङ्ग मात्र आएको छ, तर गण्डकी र धवलागिरी क्षेत्रको कथाञ्चलमा लेखिएका आञ्चलिक उपन्यासमा भने दलितका विषय प्रमुख बनेको पाइन्छ । नेपाली आञ्चलिक उपन्यासका आधारमा हेर्दा नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिम क्षेत्र (त्यसमा पनि विशेषतः धवलागिरी, गण्डकी र कर्णाली क्षेत्रमा) मा दलित उत्पीडन बढी  छ भन्ने देखिन्छ । नेपालबाहिरको नेपाली समाजमा भने दलितप्रतिको विभेद त्यति छैन भन्ने विषयलाई नेपाली आञ्चलिक उपन्यासमा स्पष्ट गरिएको छ । नेपाली आञ्चलिक उपन्यासमा नेपाल तथा भारतको केन्द्रीय राज्य सरकारले देशका दुर्गम क्षेत्रप्रति विभेद र उत्पीडन गर्ने गरेको देखाइएको छ । नेपाली आञ्चलिक उपन्यासका आधारमा हेर्दा नेपालका गाउँठाउँहरू राज्यको केन्द्रबाट उपेक्षित छन् भन्ने देखिन्छ । साथै भारतमा रहेका नेपालीहरू प्नि त्यहाँको राज्य सरकारबाट उपेक्षित र उत्पीडित छन् भन्ने देखिन्छ । 

(ज) प्रेम, विवाह र यौनको चित्रणमा विशेष चासो
नेपाली आञ्चलिक उपन्यासमा प्रेम, विवाहका साथै यौनका विभिन्न सन्दर्भको चित्रण गरिएको छ । प्रेमलाई कतै भावनात्मक र सार्वभौम तत्त्वका रूपमा र कतै समय, परिस्थिति र आञ्चलिकताका सापेक्षतामा हेरिएको छ । नेपाली आञ्चलिक उपन्यासका आधारमा हेर्दा प्रेम, विवाह र यौन जुनसुकै ठाउँमा पनि जीवनको स्वाभाविक आवश्यकता रूपमा लिइन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । साथै प्रेम, विवाह र यौनमा उमेर, समय, संस्कार आदिले प्रभाव पार्दछ भन्ने पुष्टि  हुन्छ । 

(झ) ऐतिहासिक सन्दर्भको चित्रण 
नेपाली आञ्चलिक उपन्यासमा विश्वयुद्ध, नेपालको एकीकरण, राणाविरोधी आन्दोलन, पञ्चायती शासनको प्रारम्भ, मुलुकी ऐन, भूमिसुधार कार्यक्रम, पञ्चायत विरोधी आन्दोलन, कमैया मुक्ति आन्दोलन जस्ता ऐतिहासिक सन्दर्भको उल्लेख भएको पाइन्छ । आञ्चलिक उपन्यासमा कथाञ्चलका स्थानीय इतिहासका साथै त्यस अञ्चलमा प्रभाव पार्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय इतिहासको सन्दर्भको चर्चा गर्ने प्रवृत्ति पाइन्छ । नेपाल तथा भारतका नेपालीहरू ब्रिटिस तथा भारतीय सेनाका रूपमा विश्वयुद्धमा लडेका हुनाले विश्वयुद्धको ऐतिहासिक सन्दर्भको चर्चा आञ्चलिक उपन्यासमा पनि भएको देखिन्छ । नेपालको एकीकरणबाट अलगअलग राज्यका रूपमा रहेका विभिन्न क्षेत्र नेपालमा गाभिएकाले त्यस एकीकरणको सन्दर्भ आञ्चलिक उपन्यासहरूमा आउनु स्वाभाविक  देखिन्छ । त्यस्तै राणाशासन, पञ्चायती शासन र विभिन्न आन्दोलनहरूले सम्बन्धित क्षेत्रमा पारेको प्रभावको विशिष्टताको चित्रण आञ्चलिक उपन्यासमा भएको पाइन्छ । 

(ञ) मनोभाव तथा सौन्दर्यको चित्रण 
  नेपाली आञ्चलिक उपन्यासमा सम्बद्ध कथाञ्चलका मानिसका मनोभाव तथा त्यहाँको सौन्दर्यको चित्रण गरिएको पाइन्छ । ठुलाबडाको हैकमवादी मनोभाव, अल्लारे ठिटाहरूको हुलदङ्गा गर्ने, बल देखाउने, तरुनीहरूप्रति आशक्ति देखाउने प्रकारको मनोभाव, व्यापारीहरूको सामानको भाउ बढाएर ठग्ने मनोभाव त्यस्तै स्वार्थी र आडम्बरी मनोभाव; दलित र गरिबहरूमा रहेको असुरक्षा, भय र निरीहताको मनोभाव; केही युवाहरूमा देखिएको सामाजिक परिवर्तनकामी मनोभाव आदिको चित्रण गरिएको छ । साथैे अनुशासन र कर्तव्य परायणको मनोभाव, नयाँ पुस्ताको स्वतन्त्रताप्रेमी मनोभाव, कतिपय पात्रमा देखिने सुधारवादी र सहयोगी मनोभावको चित्रण गरिएको छ । यसमा रेलवे सेवा, सहरीकरणका आधुनिक सुविधा र रामलीला जस्ता लोकसंस्कृतिबाट मनोरञ्जन लिने जस्ता सौन्दर्यात्मक पक्षको चित्रण गरिएको छ । 

नेपाली आञ्चलिक उपन्यासका आधारमा हेर्दा नेपालको प्रायः सबै ठाउँमा भाग्यवादी र परम्परागत धर्म र प्रचलनप्रति आस्था राख्ने धार्मिक मनोभाव पाइन्छ । नेपालका प्रायः सबै क्षेत्रमा शोषक र शोषित वर्ग रहेका र शोषक वर्गमा हैकमवादी, स्वार्थी र आपाराधिक मनोभाव पाइन्छ । कतिपय युवाहरूमा भने सुधारवादी र सङ्घर्षशील मनोभाव पाइन्छ । गरिबहरू र दलितहरूमा भने भय, निरीहता र भविष्यप्रतिको अनिश्चयको मनोभाव रहेको देखिन्छ । भूगोल, प्रकृति, समाज, संस्कृति आदिको भिन्नता र विशिष्टता अनुसार हरेको अञ्चलका आफ्नै प्रकारका मनोभाव पनि रहेको देखिन्छ । 

नेपाली आञ्चलिक उपन्यासमा नेपालको भूगोल तथा प्रकृति विकट मात्र छैन सुन्दर पनि छ भन्ने देखाइएको छ । नेपाली आञ्चलिक उपन्यासमा आएका सबैजसो क्षेत्रको भूगोल तथा प्रकृति सुन्दर र मनमोहक छ । नेपाली आञ्चलिक उपन्यासमा आएका कथाञ्चलहरूमा सौन्दर्यमा विशिष्ट मानकहरू छन्, तर आम गरिब मानिसहरू भने सौन्दर्यबोधका लागि मौका समेत नपाउने अवस्थामा छन् भन्ने देखिन्छ । 

५. निष्कर्ष 
 एक सय वर्षभन्दा लामो इहिास भएको नेपाली उपन्यास परम्परामा हालसम्म २००० भन्दा बढी उपन्यास प्रकाशित छन् । यीमध्ये करिब दुई दर्जन उपन्यास आञ्चलिक छन् । सङख्यात्मक रूपमा थोरै जस्तो देखिए पनि नेपाली आञ्चलिक उपन्यासहरू नेपाली उपन्यास परम्परामा चर्चित र उत्कृष्ट मानिनका साथै शैक्षणिक पाठ्यक्रममा समेत समाविष्ट छन् । खैरिनीघाट, घामका पाइलाहरू,  अविरल बग्दछ इन्द्रावती,  अलिखित, ब्र≈मपुत्रका छेउछाउ, उलार जस्ता उपन्यासहरू नेपाली साहित्यका उत्कृष्ट उपन्यासका सूचीमा पर्छन् । यसबाट नेपाली आञ्चलिकहरू नेपाली उपन्यास परम्पराका महत्त्वपूर्ण प्राप्ति हुन् । नेपाली आञ्चलिक उपन्यासमा नेपालको भूगोल, प्रकृति, समाज, संस्कृति, इतिहास, मनोभाव तथा सौन्दर्य चेतना आदिका विशिष्टताको चित्रण पाइन्छ । नेपाली विशिष्टतालाई चित्रण गर्न नेपाली आञ्चलिक उपन्यासहरू समर्थ देखिन्छन् । नेपाली आञ्चलिक उपन्यास औपन्यासिक शिल्पका दृष्टिले पनि सफल देखिन्छन् ।  

सन्दर्भसूची 

कोइराला, शङ्कर (२०३२). हेलम्बु मेरो गाउँ. वाराणसी : नवीन प्रकाशन .
(२०५४). खैरिनीघाट. नवौँ संस्करण (प्र.सं. २०१८). काठमाडौं : साझा  प्रकाशन . 
क्षेत्री, लीलबहादुर (२०५९). ब्रह्मपुत्रका छेउछाउ. ते.सं.. ललितपुर : साझा प्रकाशन .
गोतामे, ध.च. (२०६३). यहाँदेखि त्यहाँसम्म. दो.सं. (प्र.सं. २०४२). काठमाडौँ : साझा प्रकाशन . 
(२०६४). घामका पाइलाहरू. छैटौँ संस्करण (प्र.सं. २०३५). काठमाडौँ : साझा प्रकाशन .
गौतम, ध्रुवचन्द (२०६६). अलिखित. छैटौँ संस्करण (प्र.सं. २०४०) . काठमाडौँ : साझा प्रकाशन .
धिताल, विनोदप्रसाद (२०२८). उज्यालो हुनुअघि. काठमाडौँ : साझा प्रकाशन . 
निर्जीव, रविकिरण (२०५६). कालो कर्णाली सेतो छाया“. नारायणगढ : लेखक स्वयं . 
पाण्डे, नयनराज (२०६५). उलार. दोस्रो मुद्रण (प्र. सं. २०५५) . काठमाडौँ : फाइनप्रिन्ट आइएनसी . 
प्रकाश ए. राज (२०३३). रोदीघरको सम्झना. काठमाडौँ : आर.सी. जोशी . 
प्रधानाङ्ग, खगेन्द्र (२०५०). हारी. काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान .
भोजपुरे, हिरण्य (२०५४). छिटेन÷गोरी . काठमाडौँ : साझा प्रकाशन . 
राई, शिवकुमार (२०५१). क्षितिज पारीमा. काठमाडौं : तारा राई र शान्ति राई .
विकल, रमेश (२०४०). अविरल बग्दछ इन्द्रावती. काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान . 
विष्ट, दौलतविक्रम (२०४५). हिमाल र मान्छे. काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान .
शर्मा, तारानाथ (२०२३). ओझेल पर्दा. काठमाडौं : रत्न पुस्तक भण्डार .
 (२०२३). मेरो कथा. काठमाडौँ : रत्न पुस्तक भण्डार . 
श्रेष्ठ, भीमप्रसाद (२०५१). नौमती. काठमाडौँ : सामाजिक अध्ययन समुदाय .
सङ्ग्रौला, खगेन्द्र (२०५६). जूनकीरीको सङ्गीत. काठमाडौँ : भुँडीपुराण प्रकाशन . 
सर्वहारी, कृष्णराज (२०५९). गन्तव्य. काठमाडौँ : निरन्तर प्रकाशन . 
सुन्दास, इन्द (इ. १९८२) नियति. दार्जिलिङ : ग्रन्थ प्रकाशन . 
सुवास (इ. १९८९). मने. ते.सं. (प्र.सं. २०३०) . दार्जिलिङ : गोर्खा पुस्तक सदन . 
सुवेदी, धनप्रसाद (२०६८). “नेपाली आञ्चलिक उपन्यासका प्रवृत्ति”, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध, कीर्तिपुर : त्रिभुवन विश्वविद्यालय . 

---------------------------------------------------------------























































































































































































































































































No comments:

Post a Comment