Thursday, December 4, 2025

साझा प्रकाशनको ६२ औँ स्थापना दिवससँगै पुल्चोकमा बृहत् पुस्तक प्रदर्शनी सुरू




काठमाडौँ । पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालय परिसरमा आजदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ। केन्द्रीय कार्यालयभित्र रातो भवनमा आयोजना गरिएको प्रदर्शनीको विधिवत् उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले गर्नुभएकाे हाे ।

प्रदर्शनी उद्घाटनभन्दा अघि साझा प्रकाशनले आफ्नो ६२ औँ स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएकाे थियाे । अध्यक्ष शेखर गिरीको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख आमन्त्रित अतिथिका रूपमा उपस्थित सचिव भुजेलले साझा प्रकाशनलाई “इतिहास बोकेको सम्मानित संस्था” भन्दै यसको संरक्षण र सुदृढीकरणका लागि राज्य सकारात्मक रुपमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

मन्त्रालयमा पदस्थापन भएको तीन दिनमै साझाको आर्थिक अवस्थासम्बन्धी फाइल हातमा परेको उल्लेख गर्दै उहाँले रु. ५० लाख बजेट स्वीकृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयाे । साहित्यप्रेमी भुजेलले साहित्यकारहरूप्रति विशेष सम्मान व्यक्त गर्दै आफू पनि साहित्यकार बन्न चाहेको तर बन्न नसकेको प्रसङ्ग स्मरण गर्नुभयाे ।

अध्यक्ष शेखर गिरीले साझा प्रकाशनको एक सय १३ वर्षे इतिहासको पुनःस्मरण गर्दै सातै प्रदेशको सांस्कृतिक जगेर्नामा साझा सक्रिय रहनुपर्ने बताउनुभयाे । नयाँ प्रविधि अपनाउँदै प्रकाशन र पठन संस्कृतिलाई युगअनुकूल अघि लैजाने योजनाका बारेमा पनि जानकारी गराउनुभयाे ।

कार्यक्रममा प्रा.डा. अभि सुवेदी, प्रा.डा. तुलसी भट्टराई, मातृका पोखरेल तथा पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले साझा प्रकाशनको ऐतिहासिक योगदान, वर्तमान चुनौती र भावी दिशाबारे विशद् मन्तव्य राख्नुभएकाे थियाे ।

साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले आर्थिक र भौतिक अवस्थाबारे जानकारी दिँदै विगत केही वर्षयता संस्थाले भोगिरहेका कठिनाइहरू उल्लेख गर्नुभयाे । छापाखानाका उपकरण पुराना भइसकेको र नयाँ प्रविधि तथा विद्युतीय माध्यममार्फत पुस्तक प्रकाशनमा अघि बढ्ने सोच रहेको बताउनुभयाे ।

कार्यक्रमका संयोजक प्रा.डा. ध्रुव घिमिरेले स्वागत मन्तव्य राख्दै साझा प्रकाशनलाई आधुनिक व्यवस्थापनका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयाे । शेयरधनी प्रतिनिधिका रूपमा ओम श्रेष्ठ ‘रोदन’ र सीता पाण्डेले पनि आफ्ना धारणा प्रस्तुत गर्नुभयाे ।

साझा प्रकाशनले आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उपलब्ध पुस्तकहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। प्रदर्शनी केही दिनसम्म निरन्तर रहने बताइएको छ।

000

२०८२ मंसिर १७ बाट साभार


















 

Saturday, July 26, 2025

कृति विमोचन तथा स्रष्टा सम्मान सम्पन्न

 


नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले २०८२ साउन १० गतेका दिन काठमाडौंमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द अर्याल ‘श्रृङ्खला’ले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टले संस्थाका गतिविधिका साथै आजको कार्यक्रमका विषयमा जानकारी दिनुभएको थियो । नेपाल सरकारका पूर्व पशुपक्षी मन्त्री तथा साहित्यकार शान्ता मानवी प्रमुख अतिथि रहनुभएको थियो । समारोहमा डा. हरिप्रसाद भण्डारीलाई पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ प्रदान गरिएको थियो । सम्मानित स्रष्टा डा. हरिप्रसाद भण्डारीको जीवनी, कृतित्व र व्यक्तित्व बारेमा शेखर अर्यालले प्रकाश पार्नु भएको थियो । उहाँले डा. भण्डारीको लेखन यात्राका साथै सम्पादन एवं समालोचनाका क्षेत्रमा पुऱ्याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । सम्मानित प्रतिभा डा. हरिप्रसाद भण्डारीले आफ्ना अनुभूति प्रकट गर्नुभएको थियो । 

आज सम्पन्न समारोहमा नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सृजनातर्फको छैठौं कृति 'आमा धरती बाबु आकाश'को प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीले विमोचन गर्नुभयो । समारोहमा विमोचित कृतिको बारेमा डा. शेखरकुमार श्रेष्ठले प्रकाश पार्नुभयो । उहाँले यस कृतिमा अनुभूति, संवेदना, संघर्षका साथै मानवीय जीवनका विभिन्न पक्षको बारेमा जानकारी दिनुभयो । उहाँले कृतिमा सामान्य कमजोरी भए पनि कृति स्तरीय र पठनयोग्य भएको विचार व्यक्त गर्नुभयो । समारोहमा दीपक लोहनी, नवराज रिजाल, डा.टीकाराम पोख्रेल, मातृका पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । आज विमोचित कृतिका रचना लघुकथाकार किशन पौडेल, मनीषकुमार शर्मा समित्, इन्दिरा चापागाई, प्रार्थना खनाल एवं शान्ता तिम्सिनाले वाचन गर्नुभएको थियो । प्रमुख अतिथि शान्ता मानवीले आफ्नो जीवन राजनीतिक क्षेत्रमा बढी बितेको भए पनि आफूले साहित्य क्षेत्रलाई सधैँ माया गरिरहने विचार व्यक्त गर्नुभयो । उहाँले साहित्यले समाज र राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्ने बताउनु भयो । बिहान ८.३० बाट प्रारम्भ भएको कार्यक्रम १०.३० मा समापन भएको थियो ।

000

समाचार स्रोत : डा. पुष्करराज भट्ट

----------------------

कार्यक्रमका अन्य तस्विरहरू :



















Wednesday, April 9, 2025

गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’को लोकार्पण

 


काठमाडौं, २०८१ चैत्र २७ । 

अभिनव साहित्य समाजले आज एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सो समारोहमा कवि श्री गोपाल बरालको कविता सङ्ग्रह ‘समयका स्वर’को लोकार्पण भएको छ । वरिष्ठ पत्रकार श्री रोचक घिमिरेको प्रमुख आतिथ्य र गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

परशुराम पराजुली पराशरले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लोकार्पित पुस्तकको विषयमा सीता ओझा र प्रा.डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

शुभकामना मन्तव्य दिनेहरुमा पूर्व मन्त्री देवी ओझा, साहित्यकार बाजुराम पौडेल, प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष एवम् साहित्यकार मातृका पोखरेल रहनुभएको थियो भने लोकार्पित पुस्तकबाट एक एक वटा कविताको वाचन शारदा पराजुली र मेनका पोखरेलले गर्नुभएको थियो ।

मन्तव्य दिनेहरूले कवितामा शब्द शक्तिको धेरै महत्व हुने भएकाले व्यञ्जना र लक्षणा शब्दशक्तिको प्रयोग गरिएको कवितामा मिठास बढी हुन्छ र सार्थक कविता बन्छ भन्दै गोपालजीको कविता सुधारोन्मुख भएको टिप्पणी गर्नुभएको थियो । लगभग १५० जनाको उपस्थिति रहेको सो कार्यक्रम अत्यन्त भव्य र सभ्य थियो ।

०००

समाचार स्रोत : वेदमणि घिमिरेको सौजन्यमा








Saturday, December 14, 2024

साहित्यकार गोपाल अश्कको "लघुकथा प्रक्रिया र पाठ" माथि परिचर्चा



२०८१ साल मंसिर २९ गते  सिर्जना अभियान समाजको आयोजनामा भएको स्रष्टा संवाद तथा कृति विमर्श कार्यक्रममा स्रष्टा गोपाल अश्कलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा स्रष्टा समालोचकहरूले स्रष्टा गोपाल अश्कको सिर्जनाबारे विमर्श गरे ।
कार्यक्रममा प्रमुख वक्ता डा. पुष्करराज भट्टले स्रष्टा अश्क नेपाली लगायत भोजपुरी, हिन्दी र अंग्रेजी आदि विविध भाषाका साहित्यमा पनि कलम चलाउँदै आएका स्रष्टा बताउँदै उनले नेपाली लघुकथाको सिद्धान्तबारे पहिलो पटक कृति लेखेर यो विधालाई स्थापित गराउन महत्वपूर्ण योगदान गरेको बताए ।
कथाकार धुव मधिकर्मीले स्रष्टा अश्क लघुकथाका सर्जकका साथै द्रष्टा पनि भएको बताउँदै उनको हालै प्रकाशित लघुकथा प्रक्रिया र पाठ कृतिले नेपाली लघुकथाको समग्र रूपमा परिचय दिन सफल भएको उल्लेख गरे ।
साहित्यकार मातृका पोखरेलले स्रष्टा तथा समालोचक अश्कलाई शुभकामना दिँदै उनको कृति लघुकथा प्रकृया र पाठ परिवर्धित संस्करणको प्रकाशनले लघुकथाकारलाई फाइदा पुग्ने बताए ।
कार्यक्रममा लघुकथा लेखकहरू आर आर चौलागाइँ, ममता मृदुल र दीपक लोहनीले स्रष्टा अश्कका कृतिमाथि विविध जिज्ञासा राखेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको थियो ।

000








Saturday, August 31, 2024

जनमत साहित्यिक पत्रिकाको 'भक्तपुर विशेष अड्क' सार्वजनिकीकरण गरियो

नेपाली साहित्यिक पत्रकारितामा अत्यन्तै महत्वपूर्ण योगदान रहेको जनमत साहित्यिक पत्रिकाको पूर्णाङ्क ३२२ 'भक्तपुर विशेष अङ्क' को २०८१ साल भाद्र १५ गते भक्तपुरको ठिमीस्थित यचु पार्टी प्यालेसमा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलको सभापतित्वमा भएको थियो । पत्रिकाको उक्त विशेष अङ्कको कार्यक्रमका अतिथिहरु प्रा.डा. हेमनाथ पौडेल, धनमान श्रेष्ठ, मातृका पोखरेल, मोहन दुवाल, राममणि ढुङ्गेल र चन्द्रप्रसाद न्यौपानेले सार्वजनिकीकरण गर्नुभयो । मोहन दुवाल प्रधान सम्पादक रहनुभएको उक्त पत्रिकाको यस अङ्कका लागि अतिथि सम्पादक राममणि ढुङ्गेल रहनुभएको थियो ।